नेपालगन्ज,९ फाल्गुन ।दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रौतहटले एक विज्ञप्ति जारी गर्दै दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका क्षेत्रहरुमा कुनै व्यक्ति आवत जावत गर्न, किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क, बमोजिम कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो । घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति रौतहटको निर्णयानुसार मिति २०८२ साल फागुन ९ गते दिउसो १ (एक) बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै व्यक्ति आवत जावत गर्न, किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क, बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ। यस आदेशको उलंघन गर्नेलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’










