सुनसरीमा कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप

0
114

नेपालगन्ज,९ फाल्गुन । भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।



कांग्रेस नेता एवं सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीकाे चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यही क्रममा सुरु भएको भनाभन केहीबेरमै हातहालाहालमा परिणत भएको थियाे ।

झडप उग्र बन्ने संकेत देखिएपछि सुरक्षामा खटिएको प्रहरीले हस्तक्षेप गरेको थियो। कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल र रास्वपाका कार्यकर्ताबीच तनाव बढेपछि प्रहरीले लाठीचार्ज गरी दुवै पक्षलाई तितरवितर बनाएको जनाएको छ।

कांग्रेसले आयोजना गरेको कार्यक्रम हुन नदिने हल्ला फैलिएपछि कार्यकर्ताहरू आक्रोशित बनेको बताइएको छ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेका अनुसार दुई पक्षबीचको विवादले असामान्य रूप लिएपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको थियो। बल प्रयाेगसँगै अवस्था सामान्य बनेकाे उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here