नेपालगन्ज,८ फाल्गुन ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट फागुन २२ गते चुनावको भोलिपल्ट साधारण तारेख दिएको छ । २१ गते भने देशभर निर्वाचन हुँदै छ । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट २२ गतेलाई साधारण तारेख दिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर गरिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ अघि बढाइएको छैन ।
प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा मागदाबी लिइएको छ । तर, रिटमा सुनुवाइका निम्ति सर्वोच्चले अझै पेसी दिएको छैन ।
शुक्रबार (फागुन ८) गते रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारेख पाएको जानकारी दिए ।
उनका अनुसार, चुनाव सकिएपछि पनि सुनुवाइको मिति तय नगरी तारेख मात्र दिइएको हो । त्यस दिन सुनुवाइ हुने छैन । अर्थात्, निर्वाचन (फागुन २१) अघि संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ हुँदैन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको थियो ।
त्यसपछि पूर्वप्रधान न्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनै हालकी प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । यही फागुन २१ गतेको निर्वाचन प्रधानमन्त्री कार्कीले नै सम्पन्न गराउन लागेकी हुन् ।









