राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

0
50

नेपालगञ्ज,१९ माघ ।संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुने भएकाे‍ छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा राष्ट्रियसभा बैठकमा जानकारी गराउनुहुनेछ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ राष्ट्रियसभा समक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभा समक्ष प्रस्तुत गर्नेछिन्।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश–२०८२’ तथा ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश–२०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा पेस गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here