मतदातालाई एमालेकाे आह्वान : लोकप्रियतावादको भ्रमबाट सचेत रहनुहाेला

0
118

नेपालगन्ज,२ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गरेकाे छ। एमाले प्रचार तथा प्रकाशन विभागले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमार्फत यस्ताे आह्वान गरेकाे हाे। 

विभाग प्रमुख मीनबहादुर शाहीले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गरेकाे बताए। उनका अनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ। यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उनको भनाइ छ। 

विभाग प्रमुख शाहीले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे। लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश तथा दक्षिण एशियाका केही राष्ट्रहरूमा देखिएको उल्लेख गर्दै उनले नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए। 

विभाग प्रमुख शाहीकाे भनाइ:

देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं। राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ। 

नेकपा (एमाले) नेपालका आम जनता, आमाबुबा, दाजुभाई, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदाता समक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकारको प्रयोग नेकपा (एमाले) को सूर्य चिन्हमा प्रदान गर्न अनुरोध गर्दछौँ। 

विश्वभरका धेरै र दक्षिण एशियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ। तसर्थ, स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ।

एमालेले ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य अघि सारेको छ। स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको उद्देश्य रहेको उनले बताए। 

एमालेले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका अवसर, सुरक्षित आवास तथा सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता तथा राष्ट्रिय स्वाभिमान सुदृढीकरणमार्फत दीर्घकालीन समृद्धि हासिल गर्न आफ्नो नेतृत्व सक्षम रहेको दाबी पनि एमालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here