माधव नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गाको मुद्दामा विशेष अदालतबाट साक्षी बुझ्ने आदेश

0
62

नेपालगञ्ज,१८ माघ ।पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा भ्रष्टाचार मुद्दामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादीविरुद्ध विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा साक्षी बुझ्ने आदेश दिएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध अख्तियारले जेठ २२ गते मुद्दा दर्ता गरेको थियो । नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानुन विपरीत खरिद–बिक्री गर्न दिएको अख्तियारको आरोप छ ।

२०६६ माघ १८ गतेको मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

अख्तियारले सहसंयोजक नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो । प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । अख्तियारबाट नेपालको मुद्दा अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल आएसँगै आइतबारका लागि पेसी तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here