नेपालगञ्ज,१९ माघ । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन। बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन्। उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।
नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले बताए।
उनले ग्यास बजारमा चरम अभाव हुँदा घरमा परिवारको बिचल्लि हुने अवस्था आएको बताए। घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्लि अवस्था आएको घिमिरेले बताए।
बजारमा नेपाल ग्यास कहीँ कतै नपाएपछि बालाजु औद्योगिक क्षेत्र भित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलका प्रेम साहले आफू काठमाडौंमा ब्याकको काम गर्ने गरेको र डेरामा ग्यास सकिएको र समयमै नपाएको बताए। उनले नेपाल ग्यास नपाएपछि आगोमा पकाएर जीविकोपार्जन गरिरहेको बताए।
आफूले कहिकतै ग्यास नपाउँदा बिजोग भइरहेको उनको भनाइ छ। अर्का उपभोक्ता धार्दिङ घर भइ हाल काठमाडौंमा बस्दै आउनुभएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताए।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ। नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए। उनकाअनुसार त्यो मात्रमा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो। अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताए।
सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताए। जाडो महिनामा यो संख्या अझ बढ्छ। पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उनको दाबी छ। बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ। अहिले आत्तिनुपर्ने स्थीति छैन। ग्यास रेगुलर आउन थालिसकेको छ। अहिले आवश्यकता भन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको उनको दाबी छ।
नेपाल आयाल निगमले नेपाल ग्याससहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए।
उनले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताए। निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ।










