नेपालगञ्ज,१९ माघ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पछिल्लो मूल्यांकन र विश्वव्यापी क्रिकेट संरचनामा नेपालको बढ्दो प्रभावले नेपाललाई टेस्ट राष्ट्र बन्ने दौडमा बलियो स्थानमा उभ्याएको छ ।
लगातार दुईवटा टी–२० विश्वकपमा छनोट भएर नेपालले आफ्नो प्राविधिक क्षमता प्रमाणित गरिसकेको छ भने आईसीसीले पनि नेपाललाई विश्व क्रिकेटको उदयमान शक्तिका रूपमा हेरेको छ । नेपालको यो प्रगति र टेस्ट राष्ट्र बन्ने लक्ष्यका बारेमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्व कप्तान पारस खड्का निकै सकारात्मक देखिन्छन् ।
उनी नेपालको वर्तमान अवस्था र भविष्यको मार्गचित्रबारे भन्छन्, ‘आईसीसीले अहिले नेपाललाई एउटा ठूलो सम्भावना बोकेको राष्ट्रको रूपमा हेरिरहेको छ, हामी केवल विश्वकप खेल्नमा मात्र सीमित छैनौँ, हाम्रो अन्तिम लक्ष्य नेपाललाई टेस्ट राष्ट्रको तहसम्म पुर्याउनु हो, त्यसका लागि हामीले घरेलु संरचनामा सुधार, नेपाल ‘ए’ को एक्सपोजर र पूर्वाधार विकासमा काम गरिरहेका छौँ, आईसीसीको विश्वास र नेपाली समर्थकको साथ नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।’
टेस्ट मान्यताका लागि बलियो आधार
आईसीसीले टेस्ट राष्ट्र बन्नका लागि नेपाललाई मैदानको प्रदर्शनसँगै प्रशासनिक र संरचनात्मक सुधारलाई मुख्य सर्त राखेको छ । सचिव खड्काको नेतृत्वमा क्यानले अहिले यिनै प्राविधिक पक्षहरूमा काम गरिरहेको छ । बहु–दिवसीय क्रिकेट नेपालमा छिट्टै घरेलु प्रथम श्रेणी क्रिकेटको जग बसाल्ने तयारी भइरहेको छ, जुन टेस्ट मान्यताका लागि अनिवार्य सर्त हो ।
पूर्वाधारमा लगानी र कीर्तिपुरमा फ्लडलाइट जडान भइसकेको छ भने मूलपानी र भैरहवा जस्ता रंगशालाहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट र अत्याधुनिक सुविधासहित स्तरोन्नति गरिँदै छ ।
व्यावसायिक विस्तारमा नेपाल प्रिमियर लिग एनपीएलमार्फत नेपालले आफ्नो आर्थिक र व्यवस्थापकीय क्षमता विश्वलाई देखाइसकेको छ, जसले आईसीसीलाई नेपालप्रति थप विश्वस्त बनाएको छ ।
आईसीसीको डिजिटल स्टार नेपाल
आईसीसीले नेपाललाई आफ्नो डिजिटल पावरहाउसका रूपमा समेत चित्रण गर्ने गरेको छ । लगातार दुई वर्ष डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जित्नुले नेपाली क्रिकेटको बजार कति ठूलो छ भन्ने पुष्टि गर्छ । आईसीसीका लागि नेपाल भारतपछिको यस्तो गन्तव्य हो, जहाँ क्रिकेटप्रतिको लगाव अभूतपूर्व छ ।
यही फेब्रुअरी ७ देखि सुरु हुने टी–विश्वकपमा नेपालले इङ्गल्याण्ड जस्ता शक्तिशाली टोलीसँग खेल्दा विश्वको ध्यान नेपालमाथि हुने छ । पारस खड्का थप्छन्, ‘यो विश्वकप हाम्रा लागि केवल एउटा प्रतियोगिता मात्र होइन, यो टेस्ट राष्ट्र बन्ने दिशामा हाम्रो योग्यता प्रमाणित गर्ने ठूलो मञ्च पनि हो ।’
आईसीसीका लागि नेपाल एउटा ठूलो बजार हो । यो विश्वकप २०२६ मा पनि भारतपछि सबैभन्दा बढी टिकट बिक्री हुने टोलीमा नेपाल परेको छ । यसले आईसीसीलाई के सन्देश दिएको छ भने नेपालका खेलहरूले रंगशाला र विज्ञापन दुवैबाट ठूलो आम्दानी गराउन सक्छन् ।
क्रिकेट विज्ञहरूका अनुसार नेपालको अहिलेको यात्रा झन्डै एक दशक अगाडिको अफगानिस्तानको जस्तै छ । समर्थकहरूको अपार माया, युवा प्रतिभाको खानी र अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो साखले गर्दा नेपाल आगामी केही वर्षभित्रै पूर्ण सदस्य बन्ने दौडमा सबैभन्दा अगाडि छ।
विश्वकप २०२६ मा नेपालको प्रदर्शनले यस यात्रालाई झन् छिटो बनाउने अनुमान छ । यदि नेपालले समूह चरणमा कुनै एक टेस्ट राष्ट्रलाई पराजित गर्न सकेमा नेपाललाई टेस्ट मान्यता दिन आईसीसीमाथि ठूलो दबाब सिर्जना हुने छ । नेपालले टी–२० र ओडिआई दुवैमा आफ्नो हैसियत प्रमाणित गरिसकेको छ ।
दक्षिण अफ्रिका जस्ता बलिया टोलीलाई विश्वकपमा कडा टक्कर दिनु, वेस्टइन्टिजलाई हराउनु र यू–१९ स्तरमा टेस्ट राष्ट्रहरुलाई हराउनुले नेपालको प्राविधिक क्षमता पुष्टि गर्छ । यही कारणले गर्दा आईसीसीले आफ्ना ठूला प्रतियोगिताहरूमा नेपालको सहभागितालाई विशेष प्राथमिकता दिँदै आएको छ । नेपालका खेलहरूमा हुने दर्शकको चाप र सामाजिक सञ्जालमा हुने चर्चाले क्रिकेटको विश्वव्यापी बजारीकरणमा ठूलो टेवा पुर्याएको आईसीसीको बुझाइ छ ।








