नेपालगन्ज,६ फाल्गुन ।नेपालले १२ वर्षपछि टी–२० क्रिकेट विश्वकपमा जित हात पारेको छ । नेपालले मंगलबार स्कटल्यान्डलाई ७ विकेटले हराउँदै सन् २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो । जारी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो । यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रनले तथा इटाली र वेस्ट इन्डिजसँग क्रमशः १० र ९ विकेटले पराजित भएको थियो । लगातार ३ खेल हारेपछि नेपाल समूह चरणबाट बाहिरिइसकेको थियो । यसर्थ उसका लागि मंगलबारको जित सान्त्वना बनेको छ ।
यसअघि नेपालले १२ वर्षअघि बंगलादेशमा भएको विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएको थियो । हङकङलाई ८० तथा अफगानिस्तानलाई ९ रनले हराएको थियो । घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएपछि नेपालले समूह चरण पार भने गर्न सकेको थिए । यसपछि नेपालले अमेरिका २ वर्षअघि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेलेका थियो । ४ मध्ये ३ खेल खेल्दा नेपाल सबै खेलमा पराजित भएको थियो । नेपाल नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेको थिएन ।
मंगलबार भारतको मुम्बईको वानखेडे रंगशालामा स्कटल्यान्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । उनले बीचमा धर्मराउन लागेको पारी सम्हालेर अर्धशतक बनाउँदै नेपालको जितको आधार तयार पारे । ब्याटिङमा अन्तिमसम्म उनलाई साथ दिएका गुल्सन झाले विजयी चौका प्रकार गर्दै जित सुनिश्चित गराए । उनले १६ बलमा २४ रन हिर्काए ।

त्यसअघि, १७१ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको बलियो ओपनिङ साझेदारी गरेका थिए । जसले नेपाललाई जितको आधार तय गरिदिएको थियो । यस क्रममा कुशलले ३५ बलमा ४३ रन र आसिफले २७ बलमा ३३ रन बनाए । कप्तान रोहित पौडेल भने १६ रन बनाएर आउट भए । स्कटल्यान्डका बलर माइकल लिस्कले ३ विकेट लिए पनि अन्य बलरहरू नेपाली ब्याटरसामु त्यति प्रभावशाली देखिएनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । उसका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रन जोडे । एक समय १० ओभरमा ८० रन बनाएर विष्फोटक सुरुवात गरेको स्कटल्यान्डलाई मध्य र अन्तिम ओभरमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै रोकेका थिए । जसमा विशेषगरी सोमपाल कामी र नन्द यादव सफल रहे । सोमपालले ४ ओभरमा मात्र २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै नन्दनले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट हात पारे । नेपाल रहेको समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर–८ मा पुगेका छन् । यस्तै नेपालसहित इटाली र स्कटल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् ।
दीपेन्द्र बने विश्वकपमा दोहोरो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी
यसैबीच नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी विश्वकपमा दोहोरो अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रले यसअघि वेस्ट इन्डिनविरुद्ध पनि ५८ रन बनाएका थिए । मंगलबार स्कटल्यान्डविरुद्ध २३ बलमा ५० रन हान्दै अर्धशतक पूरा गरेका हुन् । यो क्रममा उनले ४ चौका र ३ छक्का प्रहहार गरे । विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी भने सुवास खकुरेल हुन् । उनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए । सन् २०२४ को विश्वकपमा भने कुनै पनि नेपाली खेलाडीले अर्धशतक बनाउन सकेनन् ।










