काभ्रे,६ फाल्गुन । बनेपा बजार क्षेत्रमा आज बिहानै भएको दर्दनाक सडक दुर्घटनामा एक स्कुटर चालकको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको टिपरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।मृतक धुलिखेल नगरपालिका–८ का अन्दाजी ३२ वर्षीय पुरुष हुन्।
उनी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक रहेको बुझिएको छ। दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको भए पनि सो क्षेत्र अझै तनावग्रस्त छ।टिपर चालक इन्द्रावती गाउँपालिका–६ का निवासी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।दुर्घटनापछि बनेपा बजार क्षेत्र पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
थप सुरक्षाकर्मी परिचालन गरिएको भए पनि आगजनी र झडपका कारण अरनिको राजमार्गको यातायात सेवा ठप्प छ। वैकल्पिक मार्ग नहुँदा सयौँ सवारी साधन जाममा परेका छन्।घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









