प्रहरीकाे वार्षिक कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगती समीक्षा

0
96

नेपालगन्ज,२३ माघ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताए ।

वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिनुपर्ने बताए ।

ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवम् आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत प्रहरी थप सक्रिय हुनुपर्ने उनले बताए ।

हिरासत व्यवस्थापनमा थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने बताउँदै कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरी आगामी दिनमा असल अभ्यासहरूलाई आत्मसाथ गरी कार्य गर्नुपर्ने उनले बताए ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक प्रगती समीक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक अवधिका प्रमुख उपलब्धिहरू, कार्यसम्पदान सम्झौता कार्यान्वयनका चुनौतीहरू, प्रगती प्रतिवेदनमा देखिएका समस्याहरू र कार्यसम्पदान सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रहरू लगायतका विषयवस्तुहरू समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

पाँच जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा ५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भिम कुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी, मोहन सिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा थप योगदान पुर्याउन उनले निर्देशन समेत दिए ।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न परिस्थितिको विश्लेषण गरी आफ्नो क्षमता एवम् दक्षता प्रदर्शन गर्दै उच्च मनोबलका साथ थप सक्रिय भई आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भिम कुमारी पाण्डेले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको श्रीवृद्धिका लागि थप उत्प्रेरित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here