बाँकेमा आचारसंहिता पालना कडाइसाथ निगरानी

0
79

नेपालगञ्ज,१९ माघ ।बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता पालना गर्न कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जिल्लामा आचारसंहिता पालना गराउन कडाइका साथ अनुगमन सुरु गरिएको जनाएको छ ।

समितिले निर्वाचन क्षेत्र नम्बर २ र ३ मा आचारसहिंता विपरित गरिएको भनि मौखिक उजुरी आएको बताएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले उम्मेदवारले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिप्पर प्रयोग गरेर सडक ग्राभेल गरेको लगायत उजुरी आएको बताए ।

उनले ती सबै उजुरीलाई गम्भीरतापूर्वक लिँदै आचारसंहिता विपरीत कुनै पनि काम गर्न नपाइने जनाउँदै सम्बन्धितलाई सो बारेमा कडाइका साथ सचेत गराइएको बताए । उनले थपे, ‘हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा कामको शुरुवात गरेका छौँ, निगरानी कडा पार्दै जाने छौं ।’

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लाका तीनवटै क्षेत्रमा अनुगमनलाई तीव्र पार्ने समितिले जनाएको छ । निर्वाचन आयोगले अनुगमनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रूपमा तोकेको छ ।

अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन चार गतेदेखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता भने गत माघ चार गतेदेखि नै लागु भएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here