नेपालगन्ज,१ फाल्गुन ।पूर्वराज ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि त्रिभुवन विमानस्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।
शाहको स्वागतका लागि समर्थकहरुको भीड बढ्ने आंकलन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा लगाएपछि सुरक्षा उपस्थिति बडाइएको हो।

विमानस्थल प्रवेश गर्ने गेट देखि नै सुरक्षा चेकिङ बढाइएको छ। उपस्थित प्रहरीले विमानस्थलतर्फ जाने हरेक सवारी साधन र मानिसहरुलाई सोधपुछ र जाँच गरिरहेका छन्।

पूर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानबाट काठमाडौं आउने कार्यक्रम छ। निषेधित र संवेदनशील क्षेत्रमा कानुनविपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जानकारी गराएको छ।
राप्रपाका नेता उद्धवराज भेटुवालले विमानस्थलभित्र निषेधाज्ञा जारी भएपनि आफुहरुले विमानस्थल बाहिरबाट पुर्वराजालाई स्वागत गरेर निर्मल निवास पुर्याइने र शान्ति सुरक्षामा खलल पुग्ने कार्यक्रम नरहेको जानकारी दिए।













