महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ।
महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ। कतिले सेवा सुरु गरिसकेका छन् भने कतिले सेवाको तयारी गरेका छन्।
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन्।
हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए।
पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उनले उल्लेख गरे। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए।
गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताए।
हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गरे। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उनको अनुमान छ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ। फूलमालाले विशेषरुपमा सिँगारेर आकर्षक बनाइएको छ।










