सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील

0
116

नेपालगन्ज,४ फाल्गुन । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले सुझबुझका साथ रुख चुनाव चिन्हमा मतदान गर्न सबैलाई अपील गरेका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सोमबार (आज) सम्बोधन गर्दै उनले चुनावमा जात, धर्म, छिमेकी र नाता सम्बन्धका आधारमा मतदान नगर्न आग्रह गरे । ‘यो चुनावमा गलत मान्छेलाई चुन्नु भयो भने पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ,’ कोइरालाले भने, ‘यो बेला नेताहरुको अनुहार राम्ररी हेरेर सुझबुझका साथ आफ्नो बहुमूल्य मतदानलाई प्रयोग गर्नुहोला ।’ देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । कोइरालाले अगाडि थपे, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’

२००७ सालदेखि अहिलेसम्म मुलुकको हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको र गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेसले अरु दल भन्दा अगाडि आफूलाई परिवर्तन गरेको दाबी गरे । ‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेन–जीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भने, ‘नेपाली कांग्रेसले नेतृत्व परिवर्तन मात्र होइन, आफ्नो नीतिमा पनि परिवर्तन ल्याएको छ ।’ नेपाली कांग्रेसले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता १ सय ६ जना नयाँ युवालाई उम्मेदवार बनाएको जानकारी दिए ।

बाँकेको क्षेत्र नम्बर ३ का बासिन्दाले सुशील कोइरालालाई निर्वाचित गराएर पठाएकाले बाँकेमा विकासका कामहरु धेरै भएको उनको भनाई छ । ‘नेपालगन्जमा हामीले जति पनि विकास देखिरहेका छौं, यसमा स्वर्गीय सुशील कोइरालाको योगदान छ, उहाँले विकास मात्रै गर्नु भएन, देशलाई संबिधान पनि दिनुभयो ।’ आफूले नेपाली कांग्रेसको शाखलाई तल झुक्न नदिने उम्मेदवार कोइरालाले वाचा गरे । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का सभापति सतिशकुमार सोनीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, कांग्रेस नेता एवम् नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाह, कांग्रेस नेता पुरन सिंह ठकुरी, विजय मल्ल लगायतले बोलेका थिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा सोमबार नै आयोजित प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले वडा–वडामा देखिएको उत्साहले कांग्रेस जित नजिक पुगिसकेको बताए । ‘हजुरहरुको यति ठूलो उपस्थितिले नेपालगन्ज–२२ बाट नेपाली कांग्रेसले आफ्नो झण्डा फहराइसकेको छ, हामी जित नजिक पुगिसकेका छौं,’ उनले भने, ‘कतिपयले युवा साथीहरुलाई सामाजिक सञ्जालमार्फत भ्रममा पार्ने काम गरिरहेका छन्, कोही पनि भ्रममा नपर्नुहोला ।’ कांग्रेसले सधैंभरी परिवर्तनको लागि लडाइँ लड्दै आएको प्रष्ट्याउँदै उनले जेनजी आन्दोलनपछि युवाको भावनालाई समेटेर कांग्रेसले आफूलाई परिवर्तन गरिसकेको बताए । कांग्रेसले देशका लागि गरेको योगदानका बारेमा युवाहरुलाई बुझाउन जरुरी रहेको उनले प्रष्ट्याए । स्वर्गीय सुशिल कोइरालाको क्षेत्रमा आफूलाई नेपाली कांग्रेसको उम्मेदवारका रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै कोइरालाले आफू नेता नभई सेवक बनेर काम गर्न आएको बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन निकै महत्वपूर्ण र संवेदनशील रहेको बताए । ‘यो चुनावमा सोच बिचार गरेर मात्र मतदान गर्नुहोला, कसैको बहकाउमा नलाग्नुहोला,’ उनले भने, ‘तपाईंहरुलाई कोही भ्रममा पार्न आउलान् ।’ बाँकेको विकासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गी सुशिल कोइरालाको महत्वपूर्ण योगदान रहेको उनले बताए । स्वर्गीय कोइरालाले गरेको कामलाई आफूले गरेको भनेर केहीले भ्रामक प्रचार गरिरहेको चौधरीले बताए । स्वर्गीय सुशील कोइरालाकै भतिज शुधान्सु कोइराला अहिले बाँकेको क्षेत्र नम्बर २ मा उम्मेदवार रहेकाले रुख चिन्हमा मतदान गरेर जिताउन सबैलाई अनुरोध गरे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा सभापति बिद्याराम बर्माको सभापतित्वमा सम्पन्न भएको प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका महासमिति सदस्य राजकुमार बर्मा, निजामुद्धिन अन्सारी ‘छोट्कौ’, पूर्व उपमेयर एवम् महासमिति सदस्य उमा थापा मगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए । कोइरालाले सोमबार नै डुडुवा १ होलिया, नेपालगञ्ज वडा नम्बर २३ लगायतका स्थानमा प्रचारप्रसार कार्यालय उद्घाटन, भेटघाट गर्नुका साथै वडा स्तरीय भेलालाई सम्बोधन समेत गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here