बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्छ : उपसभापति शर्मा

0
60

नेपालगन्ज,४ फाल्गुन ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङको खुल्ला सभामा सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर हामी १–२–३–४ को नीति संविधानमा अंकित गर्ने छौँ । साथै, उपसभापति शर्माले अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्य मन्त्री दुई पटकभन्दा बढी रहन नपाउने बताए ।

शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन्, चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गरौँ, स्वस्थ आलोचना स्वभाविक हुन्छ ।’

नेता शर्माले आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने भन्दै चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरुमार्फत नगर्न आग्रह गरे ।

उनले देशको शासनमा जे–जस्तो सुधार गर्न जरुरी छ, त्यसको आफूहरुले केशरा–केशरा केलाएको र जेनजी विद्रोहको भावना बमोजिम सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई सम्भव बनाउने दाबी गरे । उपसभापति शर्माले भने, ‘देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ, जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here