
नेपालगन्ज,३ फागुन । निर्वाचन शिक्षाका लागि आयोगले आजदेखि देशभर स्वयंसेवक परिचालन गर्ने भएको छ । २१ गतेको मतदानलक्षित आजदेखि फागुन १७ सम्म १५ दिनका लागि सञ्चालन हुने मतदाता शिक्षाका लागि आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा १–१ जना स्वयंसेवक परिचालन गर्ने भएको हो । आयोगले यसका लागि कम्तीमा एसइई वा सोसरह उत्तीर्ण गरेका बाल विकास सहजकर्ता, मातृ स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमाध्येबाट हरेक वडामा १ जनाका दरले स्वयंसेवक चयन गरिसकेको छ ।
त्यस्तै, हरेक पालिकामा १ जनाका दरले अनुगमनकर्ता र ७७ जिल्लाका लागि १–१ जना सम्पर्क व्यक्ति चयन गरी उनीहरूलाई अभिमुखीकरण तथा नियुक्ति दिएर सम्बन्धित क्षेत्रमा खटाइसकेको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको हो । यस अवधिमा स्वयंसेवकले आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउनेछन् । मतदाता शिक्षाका लागि तोकिएका स्वयंसेवकहरूले आफ्नो वडा क्षेत्रभित्रका प्रत्येक विद्यालय तथा प्रत्येक बस्तीमा पुगी घरदैलो कार्यक्रम गर्नेछन् ।
आयोगले मतदाता शिक्षाका लागि सबैभन्दा उपयुक्त प्रभावकारी माध्यमका रूपमा विद्यालयलाई राखेको छ । विद्यालयमा बालबालिकाहरूलाई मतदानको महत्व र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउँदै उनीहरूमार्फत् अभिभावकसम्म निर्वाचन शिक्षा पुर्याउने लक्ष्य राखेको छ । यसका लागि स्वयंसेवकहरूले विद्यालयका प्रधानाध्यापकको अनुमतिमा संक्षिप्त नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् । त्यस्तै, नमुना मतपत्र देखाएर घरघरमा पुगी मतदातालाई मतदान गर्ने सही तरिकाबारे पनि सिकाउनेछन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको प्रतिवेदन पाएपछि ती स्वयंसेवकलाई १० हजार रुपैयाँका दरले १५ दिनको पारिश्रमिकसमेत उपलब्ध गराउनेछ ।
हरेक पालिकामा अनुगमनकर्ता
निर्वाचन आयोगले निर्वाचन तथा मतदाता शिक्षाका लागि स्थानीय तहमा तोकिएका निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षाका लागि लागि आयोगले अनुगमनकर्ता तोकेको छ । कुनै स्थानीय तहमा पहिले तोकिएका निर्वाचन सम्पर्क व्यक्ति नभएको अवस्थामा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा निर्वाचन कार्यालयले आवश्यक अनुगमनकर्ता तोकेको छ ।
अनुमगनकर्ताहरूले आफ्नो पालिकाभित्रका वडाहरूमा खटिने स्वयंसेवकहरूको विवरण निर्वाचन कार्यालयलाई उपलब्ध गराउनेदेखि स्वयंसेवकलाई कार्यक्रम सञ्चालन गर्न आवश्यक सहजीकरण गर्नेछन् । त्यस्तै, स्वयंसेवकहरूले दैनिक सञ्चालन गर्ने कार्यक्रमको अनुगमन गरी समन्वयकर्तालाई प्रतिवेदन बुझाउने, स्वयंसेवकहरूले पठाएका कार्यक्रमसम्बन्धी फोटो भिडियोलाई समन्वयकर्तासमक्ष पठाउने तथा आफूले गरेको कामको विवरणसहितको प्रतिवेदन निर्वाचन कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । अनुगमनकर्ताले आयोगसमक्ष आफ्नो अनुगमन प्रतिवेदन बुझाएपछि पारिश्रमिकबापत एकमुष्ट ५ हजार रुपैयाँ पाउनेछन् ।
७७ जिल्लामा समन्वयकर्ता
त्यस्तै, आयोगले जिल्लाभर मतदाता शिक्षा कार्यक्रम समन्वयका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत् १÷१ जना समन्वयकर्ता तोकेको छ । यसरी देशभर खटिएका ७७ जना समन्वयकर्ताले जिल्लाका सम्बन्धित पालिकामा खटिएका अनुगमनकर्ताको समन्वयमा मतदाता शिक्षा स्वयंसेवकहरूसँग नियमित समन्वय र सम्पर्क गर्नेछन् भने आयोगबाट पठाइएका मतदाता शिक्षा सामग्री अनुगमनकर्तामार्फत् मतदाता शिक्षा स्वयंसेवकसम्म पुर्याउनेछन् ।
यसैगरी मतदाता शिक्षा स्वयंसेवकहरूले गरेका काम अनुगमनकर्तामार्फत् दस्तावेजीकरण गर्ने तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोग, निर्वाचन कार्यालय, स्थानीय तह, अनुगमनकर्ता र स्वयंसेवकबीच आवश्यक समन्वय गर्नेछन् । समुदाय स्तरका कार्यक्रम तथा घरदैलो कार्यक्रमको अनुगमनकर्तामार्फत् समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पाएका समन्वयकर्ताहरूलाई आयोगले आफ्नो सम्पर्क विन्दुका रूपमा राखेको छ ।
3Shares









