एजेन्सी,१ फाल्गुन ।बंगलादेशमा बिहीबार भएको चुनावबाट बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । बीएनपीले बहुमत हासिल गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितिसकेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा ५९ बढी हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भइसकेको छ ।
जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११–दलीय गठबन्धनले अहिलेसम्म ७० सिट मात्र जितेको छ । जमात प्रमुख सफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन् । अन्तिम र आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ ।
यस्तो छ तारिक रहमानको कथा
रहमान बंगलादेशी राजनीतिमा तारिक जियाको नामले चिनिन्छन् । उनको जीवन र राजनीतिक पहिचान धेरै हदसम्म उनको पारिवारिक नामसँग जोडिएको छ । उनको प्राथमिक पहिचान जियाउर रहमान र खालिदा जियाका छोरा हुन् ।
उनको जन्म १९६७ मा भएको थियो, जतिबेला बंगलादेश पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो । अर्थात्, बंगलादेश वर्तमान पाकिस्तानकै एक भाग थियो । १९७१ को मुक्ति युद्ध (बंगलादेशको स्वतन्त्रता युद्ध)को समयमा तारिक केवल चार वर्षका थिए र उनलाई छोटो समयका लागि हिरासतमा राखिएको थियो ।
जसकारण उनको पार्टी बीएनपीले उनलाई ‘युद्धका सबैभन्दा कान्छा कैदीमध्ये एक’ भनेर सम्मान गर्छ । उनका बुबा जियाउर रहमान एक सेना कमान्डर थिए । सन् १९७५ को विद्रोहपछि उनले बिस्तारै सत्तामा आफ्नो पकड बलियो बनाए र पछि राष्ट्रपति बने ।
त्यही वर्ष बंगलादेशका संस्थापक नेता र शेख हसिनाका बुबा शेख मुजिबुर रहमानको हत्या गरियो । यो घटनाले जिया र हसिना परिवारबिच गहिरो र स्थायी राजनीतिक द्वन्द्व निम्त्यायो, जसलाई सामान्यतया ‘बेगमहरूको युद्ध’ भनेर चिनिन्छ । केही वर्षपछि जियाउर रहमानको पनि हत्या गरियो ।
त्यतिबेला तारिक मात्र १५ वर्षका थिए । त्यसपछि देशको पहिलो महिला प्रधानमन्त्री नबन्दासम्म छोराको पालनपोषण जिम्मेवारी खालिदा जियाको जिम्मामा आयो । पछि हसिना र जिया निरन्तर शक्ति संघर्षमा हुन थाल्यो र उनीहरूले एकअर्कालाई राजनीतिक रूपमा चुनौती दिन थाले ।
बीएनपीका अनुसार, तारिक रहमानले २३ वर्षको उमेरमा सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरेका थिए । त्यसपछि उनी सैन्य शासक हुसेन मुहम्मद एरसादविरुद्ध आन्दोलनका क्रममा बीएनपीमा सामेल भए ।
२००७ मा पक्राउ, २००८ मा विदेश
२००७ मा तारिकलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो । उनी जेल परे । अनि राजनीतिबाट टाढा रहने सर्तमा उनलाई रिहा गरियो । जेलमुक्त भएपछि उनी सन् २००८ मा उपचारका लागि भन्दै लन्डन (बेलायत) गए र बंगलादेश फर्केनन् । २००८ मा शेख हसिना सत्तामा फर्किएपछि ठुलो संख्यामा बीएनपी नेता तथा कार्यकर्तालाई जेल हालियो ।
पछि २०१८ मा तारिक रहमानलाई २००४ मा हसिनाको र्यालीमा आक्रमण गर्ने षड्यन्त्र गरेको आरोपमा उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनायो । बीएनपीले यो जिया परिवारलाई राजनीतिबाट स्थायी रूपमा निष्कासन गर्ने प्रयास भएको दाबी गरेको थियो । बेलायतमा बस्दा तारिक रहमान श्रीमती, एक मुटु रोग विशेषज्ञ र छोरीको साथमा थिए ।
तर विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा देशै छाडेर भागेपछि रहमान बंगलादेशी राजनीतिमा उदाएका हुन् । १७ वर्षको निर्वासनपछि तारिक रहमान गत डिसेम्बर २५ स्वदेश फर्किएका थिए । त्यसको पाँच दिनपछि नै बिरामी आमा खालिदा जियाको निधन भएपछि उनी बीएनपी अध्यक्ष बनेका हुन् ।









