नेपालगञ्ज,१५ माघ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच आज भेटवार्ता भएको छ ।
निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ,निष्पक्ष, पारदर्शी एवम् भयमुक्त वातावरणमा सम्पन्न गर्न समग्र शान्ति सुरक्षा र निर्वाचनको समय व्यवस्थापनको तयारीका बारेमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको बताउनुभयो । शान्ति सुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकार कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री अर्यालले सरकारले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवम् सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराउनुहुँदै यसका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई कार्य गरिरहेको र आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन ,सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको समेत बताउनुभयो ।









