स्वर्गीय सुशील कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

0
103

नेपालगन्ज दाङ,६ फाल्गुन । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गीय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा आज बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा कोइरालाले मतदातालाई ढोग गर्दै र हात जोड्दै कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर जिताउन अनुरोध गरेका थिए ।

त्यसक्रममा घर–घरबाट निस्केका महिला, पुरुष, युवा र बृद्धले कोइरालालाई स्वागत गर्दै सादगी नेता एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले जस्तै गरेर सरल जीवन शैली र आफूमा कुनै दाग नलगाउन सुझाव दिए ।

‘तपाईं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला जस्तो साधारण जीवन शैली बोकेको, त्यागी नेताको परिवारको सदस्य हुनुहुन्छ, अहिले तपाईं उम्मेदवार भएको कुरा थाहा पाउँदा हामी एकदमै खुसी छौं,’ बाँकेको क्षेत्र नम्बर २ का हामी मतदाताले तपाईं जस्तो युवा उम्मेदवार पाएका छौं, यो नै खुसीको कुरा हो,’ एक स्थानीयले कोइरालालाई धाप मार्दै भने ।

घरदैलोका क्रममा स्थानीय स्तरमा महिला, पुरुष, युवा र बृद्धहरुले समेत कोइरालालाई हौसला दिएका थिए । ‘यस पटक यो क्षेत्रमा जित्ने पालो कांग्रेसको हो, सुशील कोइरालापछि कांग्रेसले जित्न नसकेको यो क्षेत्रमा यस पटक युवा नेता शुधान्सु कोइराला जत्तिको उम्मेदवार पाउनु नै हाम्रो लागि शौभाग्य हो,’ स्थानीय एक युवाले भने, ‘म कुनै पनि पार्टीको सदस्य छैन, तर म कांग्रेसलाई मतदान गर्छु ।’

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा सभापति सञ्जय बर्माको नेतृत्वमा भएको उक्त घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौ’, पार्टीका युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here