नेपालगन्ज,२० माघ।प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सुनसरी–१ मा चुनावी माहोल तातिरहेको छ । चुनावी प्रचार, भेटघाट र घरदैलो कार्यक्रम चलिरहेकै बेला सामाजिक सञ्जालमा फैलिएको एउटा तस्बिरले भने चुनावी बहसलाई अर्कै दिशातर्फ मोडिदिएको छ । निर्वाचन आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चको हदसम्बन्धी व्यवस्थाअनुसार सुनसरी–१ र २ का उम्मेदवारले जम्मा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउँछन् । त्यस्तै, निर्वाचन आचारसंहिताअनुसार २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा÷दिँदा बैंक वा वित्तीय संस्थामार्फत् कारोबार गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । यदि आयोगले तोकका यी व्यवस्था बेवास्ता गरे उम्मेदवार दण्डित हुने आयोगले पटक–पटक जानकारी दिँदै आएको छ ।
तर, धरानमा टेबलमाथि थुपारिएको नगद देखिने उक्त तस्बिरले मतदातामाझ विभिन्न प्रश्न उब्जाएको छ । सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिरमा देखिएको रकम धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको सचिवालयको हो । जहाँ एउटा तस्बिरमा कसैले पैसा हस्तान्तरण गर्दै गरेको देखिन्छ भने अर्को तस्बिरमा टेबलमा पैसाको बिटो मिलाएर राखेको देखिन्छ । कतिपयले यसलाई चुनावी प्रचारका लागि संकलन गरिएको पैसा भन्दै व्याख्या गरेका छन् भने कतिपयले यसलाई पार्टीको अभियानमा आएको सहयोग रकमका रूपमा बुझिरहेका छन् । पैसा कसले दिएको हो, कहिले र कुन प्रयोजनका लागि संकलन गरिएको हो भन्ने विषय भने सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन, जसका कारण विभिन्न अड्कलबाजी र टिप्पणी सुरु भएको छ ।
तस्बिर सार्वजनिक भएसँगै कतिपय मतदाताले चुनावी प्रचारमा प्रयोग हुने पैसाबारे खुलेर कुरा गर्न थालेका छन् । सुनसरी–१ का मतदाता गोपी कार्की भन्छन्, ‘त्यसरी पैसा उठाउनचाहिँ नहुने हो । सहयोग रकम भनिए पनि मेयरमा हुँदा पनि उहाँले यसैगरी पैसा संकलन गर्नुहुन्थ्यो । तर, त्यो पैसा कहाँ जान्छ भन्ने यकिन नै हुन्न । हामीले त के भन्ने, बोल्यो कि पोल्यो हुन्छ ।’ उनको भनाइले पैसाको स्रोत र प्रयोगबारे जनस्तरमा रहेको शंकालाई देखाउँछ । सबै मतदाता एउटै धारमा भने छैनन् । कतिपयले यसलाई अहिलेको चुनावी अभ्यासकै रूपमा लिएका छन् । मतदाता विनोद गुरुङका अनुसार चुनाव प्रचारका लागि सहयोग रकम उठाउनु नयाँ विषय होइन । उनी भन्छन्, ‘अहिले त चुनाव प्रचार गर्न पैसा उठाउने ट्रेन्ड नै भएको छ । चुनाव जिते पनि हारे पनि पैसाचाहिँ मजाले कमाउने भए उम्मेदवारहरूले । श्रम संस्कृति पार्टीबाहेक अरूले पनि यही गरेको देखिरहेकै छौँ ।’
सामाजिक सञ्जालमा देखिएको तस्बिर र वास्तविकताको दुरीबारे केही मतदाता अझै अनिश्चित छन् । मतदाता विष्णु राई भन्छन्, ‘चन्दा उठाउनुचाहिँ गलत नै हो । हामीले पनि सोसल मिडियामा आएका कुरा देखेका हौँ । अब आन्तरिक के हो थाहा छैन ।’ उनको प्रतिक्रिया देखिएको तस्बिर र नदेखिएको यथार्थबीच अलमलिएको मनस्थितिको उदाहरण हो ।
यसैबीच, श्रम संस्कृति पार्टी सचिवालयले सामाजिक सञ्जालमा फैलिएको तस्बिरबारे प्रतिक्रिया जनाएको छ । पार्टीका अनुसार तस्बिरमा देखिएको रकम कुनै बाध्यकारी संकलन होइन, स्वेच्छिक सहयोग हो । सचिवालयको भनाइ छ, ‘हामीले चन्दा उठाएका छैनौँ । मानिसहरूले आफैँ खोजी–खोजी हामीलाई सहयोग गर्नुहुन्छ । क्युआर माग्नुहुन्छ । चुनावअघि पनि हाम्रो विभिन्न अभियानमा यसरी सहयोग रकम आएको छ । पैसा हाम्रो आधिकारिक खातामै आउँछ । कसले कति सहयोग गर्नुभयो, सार्वजनिक गर्दै आएका छौँ । कसैलाई चाहिए हामीसँग प्रमाण छ ।’यो विषय श्रम संस्कृति पार्टीमा मात्र सीमित छैन ।
पछिल्लो समय सुनसरी–१ सहित अन्य क्षेत्रमा पनि विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत् क्युआर कोड राख्दै चुनावी अभियानका लागि सहयोग माग्ने अभ्यास बढ्दो छ । फेसबुक पोस्टमार्फत् सहयोगको अपिल अब अस्वाभाविक देखिँदैन । भाइरल तस्बिरले कसैलाई दोषी ठहर नगरे पनि यसले चुनावी प्रचारमा प्रयोग हुने पैसाको विषयलाई फेरि एक पटक बहसको केन्द्रमा ल्याएको छ । सुनसरी–१ मा अहिले चुनावी एजेन्डासँगै पैसाको पारदर्शिता पनि मतदाताको चासोको विषय बन्दै गएको छ ।









